व्यावसायिक र सृजनशील प्रशासन,विकास, समृद्धि र सुशासन

मन्त्रालयको परिचय

नेपालको तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले मुलुकको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक कृयाकलाप अभिवृद्धि र समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउँदै आएको छ । देशमा रहेका सम्पूर्ण मूर्त र अमूर्त साँस्कृतिक सम्पदाहरुको संरक्षण र विकास गरी तिनको आर्थिक उपयोग गर्ने तथा पर्यटनलाई मुलुकको आर्थिक आधारको रुपमा ग्रामीण तहसम्म विकास र विस्तार गरी यसको प्रतिफल जनजीवनको तल्लो तहसम्म पुर्याउन संस्कृति र पर्यटन क्षेत्रको विविधिकरण, विस्तार र प्रवर्द्धन गरिनु आवश्यक छ ।पर्यटन क्षेत्रको विकास र विस्तार सहित आन्तरिक र बाह्य हवाई यातायात विकास गरी थप सुरक्षित, स्तरीय र भरपर्दो बनाउन आवश्यक छ ।
 

नेपालमा विदेशी पर्यटकहरुको आवागमन शुरुवातसँगै पर्यटन क्षेत्रका कार्यक्रमहरुलाई व्यवस्थित ढंगले अगाडि बढाउन सर्वप्रथम वि.सं. २०१६ सालमा पर्यटन बोर्डको स्थापना गरिएको थियो । वि.सं. २०१८ सालमा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत पर्यटन विभाग गठन गरिएको थियो । सन् १९७२ को पर्यटन गुरुयोजना र प्रशासन सुधार आयोग, २०३२ को सिफारिस समेतका आधारमा पर्यटन क्षेत्रको योजनाबद्ध विकास तथा प्रबर्द्धन गर्न केन्द्रीय पर्यटन प्रशासनिक निकायको रुपमा वि.सं. २०३४ सालमा छुट्टै पर्यटन मन्त्रालयको स्थापना भएको हो । वि.सं. २०३९ सालमा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गतको हवाई विभागलाई समेत गाभी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामाकरण गरियो । मुलुकले अवलम्बन गरेको खुला बजारमुखी अर्थतन्त्रमा सरकारको भूमिका र कार्यक्षेत्रलाई व्यवस्थित गर्न वि.सं. २०५५ सालमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका २ (दुई) वटा विभागहरु हवाई विभाग र पर्यटन विभागलाई खारेज गरी क्रमशः नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डको स्थापना गरियो । वि.सं. २०५७ सालदेखि संस्कृति क्षेत्रको समेत कार्य गर्ने गरी मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रुपमा नामाकरण गरियो । पर्यटन उद्योगको व्यवस्थापन, पर्यटन पूर्वाधार विकास, पर्यटकको सुरक्षा लगायत कार्यहरु गर्न नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७१ श्रावण २ गतेको निर्णयनुसार मिति २०७१ भाद्र महिनामा पर्यटन विभागको स्थापना गरिएको छ ।
 

नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्व बढ्दै गए अनुरुप यसलाई प्रमुख प्राथमिकताको क्षेत्रमा राखिएको, नेपालको सांस्कृतिक विविधता अनुपम रहेकोले यसलाई संरक्षण, विकास र प्रबर्द्धन गर्दै यसको आर्थिक उपयोग एवम् पर्यटनको मुख्य उत्पादन र गन्तव्यको रुपमा विकास गर्न आवश्यक भएको, साथै हवाई सेवाले भौगोलिक विषमतामा यातायात सेवा उपलब्ध गराउनुको अतिरिक्त बाह्य र आन्तरिक रुपमा पहुँच विस्तार भै पर्यटन सेवामा समेत पर्याप्त योगदान पुर्याउने भएकोले यी तीनओटै क्षेत्रलाई एकीकृत रुपमा अगाडि बढाउन एउटै मन्त्रालयको कार्यक्षेत्रमा राखिएको पाइन्छ ।


19th Mar 24 05:13:32

2018 All Rights Reserved Terms of Use and Privacy Policy

Site Visited
6063688